काठमाडौँ, वैशाख ५ गते । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । समितिको शुक्रबार बसेको बैठकले खड्कालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य सीताराम साहले सभापति पदका लागि खड्काको मात्र उम्मेदवारी परेकाले उहाँलाई सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नुभयो । खड्कालाई सभापति पदमा चयन गरियोस् भनी मोहनबहादुर आचार्यले प्रस्ताव गर्नुभएको थियो ।
निर्वाचित भएपछि नवनिर्वाचित सभापति खड्काले सार्वजनिक लेखा समितिलाई राज्यको महत्त्वपूर्ण अङ्गका रूपमा परिभाषित गर्दै आफ्नो कार्यकालमा आर्थिक सुशासन र वित्तीय अनुशासनलाई प्रमुख एजेन्डा बनाउने स्पष्ट पार्नुभयो । उहाँले विगतका अनुभव, योग्यता र क्षमतालाई अधिकतम प्रयोग गर्दै समितिको गरिमा बढाउने प्रतिबद्धता जनाउनुभयो ।
“मुलुकको आर्थिक विकासका लागि आर्थिक अनुशासन र सुशासन अनिवार्य सर्त हो,” सभापति खड्काले भन्नुभयो, “विगतमा देखिएका विसङ्गतिहरूलाई अब दोहोरिन दिइने छैन । नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्ने गरी समितिले आफ्नो सक्रियता बढाउनेछ ।”
सभापति खड्काले सङ्घदेखि स्थानीय तहसम्मका सरकारी निकायहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको औँल्याउँदै व्यापक सुधारको आवश्यकता रहेको बताउनुभयो । उहाँका अनुसार मुलुकको आर्थिक विकासको आधार नै वित्तीय अनुशासन भएकाले यसको पालना गराउन समिति कडा रूपमा प्रस्तुत हुनेछ । दिगो विकास र सुशासनका लागि सरकारी निकायहरूको खर्च प्रणाली र लेखा परीक्षणलाई थप व्यवस्थित बनाइने उहाँको भनाइ थियो ।
















































