कपिलवस्तु। सिद्धार्थ बैंक लिमिटेड, चन्द्रौटा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिवराज नगरपालिका–६, सुगानगरस्थित श्री बाल विकास आधारभूत विद्यालयका विद्यार्थीलाई १२५ थान झोला वितरण गरेको छ। बैंकले करिब ५० हजार रुपैयाँ बराबरका झोला विद्यार्थीलाई प्रदान गरेको हो।
विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले आयोजित झोला वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता गोविन्द केसीले विद्यार्थीको शैक्षिक विकासका लागि सिद्धार्थ बैंकले गरेको सहयोगको प्रशंसा गरे। उनले यस्ता सामाजिक कार्यले विद्यार्थीलाई अध्ययनप्रति थप प्रोत्साहित गर्नुका साथै शिक्षण सिकाइ प्रक्रियामा समेत सहयोग पुग्ने बताए।
सिद्धार्थ बैंक चन्द्रौटा शाखाका प्रबन्धक यज्ञ गाड्शिलाले विद्यार्थीको शिक्षण सिकाइलाई सहज बनाउने उद्देश्यले झोला वितरण गरिएको जानकारी दिए। उनले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
विद्यालयकी प्रधानाध्यापक पुष्पा न्यौपानेले सिद्धार्थ बैंकले विगतमा पनि विद्यालयलाई सहयोग गर्दै आएको स्मरण गर्दै यसपटक विद्यार्थीका लागि झोला उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन्। उनले बैंकको सहयोगले विद्यार्थीलाई शैक्षिक सामग्री व्यवस्थापन गर्न सहज हुने विश्वास व्यक्त गरिन्।
बैंकको यस पहलले विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुग्नुका साथै विद्यालय र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
















































