कपिलवस्तु, वैशाख ४ गते । निर्माण सामग्रीमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै कपिलवस्तु निर्माण व्यवसायी सङ्घले सरकारसँग निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न माग गरेको छ ।
सङ्घले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बुझाएको ज्ञापन पत्रमा इन्धन, डण्डी, सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिले निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा पछिल्लो समय अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा आएको मूल्यवृद्धिको असर निर्माण क्षेत्रमा प्रत्यक्ष परेको जनाउँदै व्यवसायीहरू आर्थिक रूपमा मारमा परेको उल्लेख गरिएको छ । निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढिरहँदा विभिन्न आयोजनाहरू प्रभावित भएको र समयमै काम सम्पन्न गर्न कठिनाइ भइरहेको जनाइएको छ ।
सङ्घका अनुसार मूल्यवृद्धिका कारण ठेक्का सम्झौताअनुसार काम गर्न नसक्ने अवस्था सिर्जना भएको छ भने कतिपय आयोजना रोकिँदै जाने जोखिम बढेको छ । यसले समग्र निर्माण क्षेत्रसँगै अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ ।
सङ्घले निर्माण क्षेत्रमा देखिएको समस्या समाधानका लागि तत्काल आवश्यक नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ । साथै ठेक्का सम्झौतामा मूल्य समायोजनको व्यवस्था कार्यान्वयन गर्न, निर्माण सामग्रीको मूल्य नियन्त्रण गर्न र व्यवसायीहरूको संरक्षणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ ।
सङ्घका महासचिव शिवदयाल ठाकुरले हस्ताक्षर गरेको ज्ञापन पत्रमा निर्माण व्यवसायीहरूलाई वर्तमान परिस्थितिबाट जोगाउन तत्काल ठोस निर्णय आवश्यक रहेको उल्लेख गरिएको छ ।
निर्माण व्यवसायी सङ्घका प्रदेश उपाध्यक्ष दिनेश हमालले निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण नभए अधिकांश आयोजना प्रभावित हुने बताउँदै व्यवसायीहरू काम गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकारले शीघ्र हस्तक्षेप गरी मूल्य समायोजनको व्यवस्था लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
















































