कपिलवस्तु। सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तौलिहवास्थित ट्राफिक प्रहरीले ‘विशेष माइकिङ अभियान’ सञ्चालन गरेको छ।
ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपानेको नेतृत्वमा आन्दोलनचोकबाट मोटरसाइकलमार्फत सुरु गरिएको उक्त अभियान बहादुरगञ्ज चोक, गौढी चोक, भिक्षु चोक, प्रशासनचोक हुँदै जमुवार पुलसम्म सञ्चालन गरिएको थियो।
अभियानका क्रममा बजार क्षेत्रमा अनावश्यक रूपमा हर्न नबजाउन, फुटपाथमा पार्किङ नगर्न, दुई पाङ्ग्रे सवारीमा चालक तथा सहचालकले अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्न, मद्यपान गरी सवारी नचलाउन र रातिको समयमा दुर्घटना न्यूनीकरणका लागि सवारीको पछाडि रिफ्लेक्टर स्टिकर टाँस्न आग्रह गरिएको थियो।
यसैगरी सवारीको गति नियन्त्रणमा राख्न, पैदलयात्रीले फुटपाथ प्रयोग गर्न तथा सडक पार गर्दा जेब्रा क्रसिङ प्रयोग गर्न र चार पाङ्ग्रे सवारी चालकले सिटबेल्ट अनिवार्य प्रयोग गर्नुपर्ने विषयमा समेत सचेतना दिइएको थियो।
प्रहरी नायव निरीक्षक न्यौपानेले ट्राफिक नियम पालना गर्नु प्रहरीका लागि नभई आफ्नै सुरक्षाका लागि आवश्यक भएको बताउनुभयो। उहाँले दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवाला सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
















































