तौलिहवा(कपिलबस्तु), बैशाख ७ गते । सुरक्षित मातृत्व अभियान अन्तर्गत मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन २०८२÷०८३ सम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा नेपाल पत्रकार महासङ्घको समन्वय, कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेसको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले मातृ तथा शिशु मृत्युदर घटाउन सम्बन्धित निकायबीच समन्वय, व्यवस्थापन र प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि नीति, योजना र कार्यान्वयन तहमा थप सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले संस्थागत सुत्केरी दर बढाउन अझै चुनौती रहेको बताउँदै अस्पताल सेवाको पहुँच र गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शून्य होम डेलिभरी लक्ष्य हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विकास निर्माणका पूर्वाधार सँगै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “वास्तविक जनताको जीवनस्तर सुधारका लागि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, प्रयास गरे असम्भव केही छैन,” उहाँले भन्नुभयो । साथै उहाँले अभियानलाई प्रभावकारी बनाउन सञ्चारकर्मीको भूमिकासमेत महत्वपूर्ण हुने बताउनुभयो ।
त्यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफ्नो पालिका जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँच विस्तार अपरिहार्य रहेको बताउनुभयो । महिला स्वयंसेविका र समुदाय स्तरका सन्देश वाहकलाई सशक्त बनाउन सके मातृ तथा बाल स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले जिल्लामा हाल करिब १३ प्रतिशत सुत्केरी घरमै हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले सुरक्षित मातृत्वका लागि संस्थागत सुत्केरी दर वृद्धि गर्न अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता तथा खगप्रसाद चापागाईँको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशब कुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल, विभिन्न पालिकाका स्वास्थ्य संयोजक, प्रतिनिधि तथा सरोकारवाला निकायका सहभागिता रहेको थियो ।
















































