काठमाडौँ, वैशाख ३१ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । सङ्घीय संसद्को बैठकमा बोल्दै अध्यक्ष ठाकुरले सरकारले जनआन्दोलनको मर्मविपरीत कार्य गरिरहेको आरोप लगाउनुभएको हो ।
अध्यक्ष ठाकुरले सुकुम्बासीहरूका विरुद्ध डोजर चलाउने कार्यलाई सरकारले ‘सुशासन’ को संज्ञा दिएको भन्दै आपत्ति जनाउनुभयो । भ्रष्टाचारका सम्बन्धमा टिप्पणी गर्दै ठाकुरले सरकारी कोषको दुरुपयोग हुनु भ्रष्टाचार भए पनि सेवाग्राहीले खुसी भएर दिने ‘उपहार’ लाई सोही दृष्टिले हेर्न नहुने तर्क गर्नुभयो । सम्पत्ति शुद्धीकरणका नाममा सरकारले त्रसित बनाउने काम गरेको भन्दै उहाँले प्रधानमन्त्रीको कार्यशैली र व्यवहारमाथि समेत व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो ।
अध्यक्ष ठाकुरले निजी क्षेत्र र विशेष गरी मारवाडी समुदायमाथि राज्यले गरिरहेको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभयो । मारवाडी समाजले शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा ठूलो योगदान पुर्याएको चर्चा गर्दै उहाँले व्यवसायीलाई त्रसित बनाएर लगानीको वातावरण बन्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनआन्दोलनका मुख्य विषय कुशासन र भ्रष्टाचारको अन्त्य थियो, तर अहिले सुकुम्बासीहरूमाथि डोजर चलाइएको छ । के यसैलाई सुशासन भन्ने हो ? एकातिर अर्थमन्त्री स्वदेशी र विदेशी पुँजी आह्वान गरिरहनुभएको छ, अर्कोतिर स्वदेशी व्यवसायीहरू त्रसित भएर देश छोड्दै छन् । स्वदेशी पुँजी पलायन हुने र व्यवसायी जेल जाने अवस्था रहेसम्म मुलुकमा लगानी र विकास सम्भव छैन ।”
मुलुकमा ‘न्यायिक आतङ्क’ व्याप्त रहेको दाबी गर्दै उहाँले वर्तमान संविधानका कतिपय मस्यौदामा सुधारको आवश्यकता रहेको औँल्याउनुभयो । आफ्ना साथीहरू लामो समयदेखि संविधानको सुधारका लागि प्रयासरत रहेको स्मरण गराउँदै उहाँले राज्यको पछिल्लो चरित्रले लोकतन्त्र र कानुनी शासनमाथि चुनौती थपेको उल्लेख गर्नुभयो ।















































