तौलिहवा(कपिलबस्तु), जेठ ३ गते । कपिलवस्तु सहित तराईका विभिन्न जिल्लामा शनिबार बरबोटको पूजा गरी बट सावित्री व्रत श्रद्धापूर्वक मनाइएको छ । प्रत्येक वर्ष ज्येष्ठ औंसीका दिन विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र अटल सौभाग्यको कामना गर्दै यो व्रत बस्ने परम्परा रहदै आएको हो ।
स्थानीय भाषामा ‘बरसाइत पूजा’ भनेर चिनिने यस पर्वमा महिलाहरू बिहानैदेखि निराहार व्रत बसी बरको रुखमुनि सामूहिक रूपमा पूजा आराधना गरेका छन् । पूजाका क्रममा महिलाले बरको रुखको फेदीमा काँचो धागो बेरी पतिको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्ने चलन रहेको छ ।
धार्मिक मान्यता अनुसार स्कन्द पुराणमा वर्णित सावित्रीले यमराजसँग वरदान प्राप्त गरी मृत अवस्थामा रहेका आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । सोही विश्वासका आधारमा महिलाहरूले व्रत बसी फलफूल ग्रहण गर्ने परम्परा रहेको छ ।
पछिल्ला वर्षहरूमा बट सावित्री पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा समेत विकसित हुँदै गएको संस्कृतिका जानकार पशुपति मणि त्रिपाठीले बताउनुभयो । पर्वले समाजमा अपनत्व, सहअस्तित्व र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको उहाँको भनाई छ ।
कृष्णनगर नगरपालिका वडा नं. ९ बहादुरगञ्जकी व्रतालु आरती श्रीवास्तवले बट सावित्री पर्व तीज जत्तिकै पवित्र र पौराणिक महत्व बोकेको बताउनुभयो । उहाँले श्रीमानको सुस्वास्थ्य, दीर्घायु तथा दाम्पत्य सम्बन्धमा प्रेम र विश्वास कायम रहोस् भन्ने कामना सहित प्रत्येक वर्ष यो पर्व मनाउँदै आएको बताउनुभयो ।
















































