तौलिहवा(कपिलबस्तु), असार १५ गते । कपिलबस्तुको मायादेवी ६ डुमरामा २३ औँ राष्ट्रिय धान दिवसको अवसरमा मेसिनबाट धान रोपेर धान दिवस मनाइएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कपिलबस्तुको आयोजना, कृषि ज्ञान केन्द्र कपिलबस्तुको सहआयोजना र विष्णु माछा पादन बचत तथा ऋण बहुउद्देशिय कृषि समुहको व्यवस्थापनमा मेसिनबाट धान रोपेर दिवस मनाइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले किसानले उत्पादनसँगै उत्पादन पछिको व्यवस्थापन, भण्डारण र बजारीकरणसम्बन्धी ज्ञान हासिल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले स्थानीय स्रोत र प्रविधिको उपयोग गर्दै उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । रासायनिक मलको अभाव भइरहेका बेला किसानले घरमै कम्पोस्ट मल उत्पादन गर्ने प्रविधि अपनाउनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कृषि क्षेत्रलाई समयानुकूल आधुनिकीकरण गर्न नसके भविष्यमा खाद्यान्न संकट र भोकमरीको चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले धान दिवसले सबैलाई नयाँ सोच, नयाँ प्रविधि र उत्पादनमुखी कृषि प्रणालीतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कपिलवस्तुका प्रमुख राकेश ओझाले श्रमिक अभावका कारण कृषि क्षेत्रमा यान्त्रिकीकरणको आवश्यकता बढ्दै गएको बताउनुभयो । कम खर्चमा छिटो काम गर्न सकिने कृषि मेसिनको प्रयोग, उन्नत बीउ, कम्पोस्ट तथा जैविक मलको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
















































