अर्घाखाँची / साउन -७ । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले अघिल्लो आर्थिक वर्षमा ४६ लाख राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी कार्वाहीमा ४६ लाख २९ हजार राजस्व संकलन गरेको हो ।
गत आर्थिक वर्षमा ट्रक, बस, जिप–कार, ट्याक्टर, मोटरसाइकल तथा अन्य सवारी साधन गरी ३ हजार १ सय ४३ वटा सवारी साधन ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कार्वाहीमा परेका थिए ।
कार्वाहीमा कुल ४६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तथ्याङ्क अनुसार सबैभन्दा धेरै ट्रक कार्वाहीमा परेका छन् । १ हजार ६ सय २३ ट्रक कार्वाहीमा २९ लाख ४७ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।
त्यसैगरी जिप-कार ७ सय ७३ कार्वाहीमा ८ लाख ५२ हजार ५ सय ,मोटरसाइकल ४ सय ६९ कार्वाहीमा ४ लाख ७९ हजार , बस १ सय ६९ कार्वाहीमा २ लाख ५५ हजार ,
ट्याक्टर ८५ कार्वाहीमा ७० हजार रुपैयाँ तथा अन्य २४ वटा सवारी कार्वाहीमा २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लिलबहादुर कुँवरले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्वाहीसँगै ट्राफिक सचेतना अभियानलाई समेत प्राथमिकतामा राख्दै आएको छ। जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सवारी चालक, सहचालक तथा सर्वसाधारण नागरिकलाई लक्षित गरी नियमित रूपमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । यस्ता कार्यक्रमले सडक प्रयोगकर्तामा नियम पालनाको संस्कार विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको ट्राफिक प्रहरीको भनाइ छ।
कार्यालयको सक्रिय अनुगमन, नियमित चेकजाँच तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनका कारण जिल्लामा सवारी दुर्घटनाको सङ्ख्यामा क्रमशः कमी आउन थालेको कार्यालय प्रमुख कुँवरले बताउनुभयो ।
चालकहरूमा हेल्मेट, सिटबेल्ट, आवश्यक कागजात, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने लगायतका विषयमा सचेतना बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ ।
सडकमा अनुशासन कायम हुँदै जाँदा यात्रु तथा पैदलयात्रीले पनि सुरक्षित महसुस गर्न थालेका छन्।
ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना, अनुगमन र कानुनी कार्वाहीलाई तिब्रताका साथ अगाडि बढाउने कार्यालय प्रमुख कुँवरको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद मरासिनीले ट्राफिक नियम पालना गर्नु सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो । उहाँले सुरक्षित यात्राका लागि चालक, यात्रु र पैदलयात्री सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। आगामी दिनमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम, चालक अभिमुखीकरण तथा सडक सुरक्षा अभियानलाई अझ व्यवस्थित गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।
















































