तौलिहवा(कपिलबस्तु), साउन २१ गते । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि केही व्यवसायीले अवसरको फाइदा उठाउँदै उपभोक्तासँग चर्को मूल्य असुल्न थालेको गुनासो बढेको छ । बजारमा ग्यासको आपूर्ति अनियमित बनेसँगै उपभोक्ताले निर्धारित मूल्य भन्दा दुईदेखि तीन सय रुपैयाँसम्म बढी तिर्न बाध्य भएको बताएका छन् ।
तौलिहवा तथा आसपासका क्षेत्रमा कृत्रिम अभाव देखाएर व्यवसायीले अतिरिक्त रकम लिने गरेको उपभोक्ताको गुनासो छ । कपिलवस्तु नगरपालिका–६ स्थित जावेद ग्यास सप्लायर्सका सञ्चालक दिन मोहम्मदले भने कम्पनीबाट पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो । “हामीले माग अनुसार ग्यास उपलब्ध गराउन खोजेका छौँ । तर कम्पनीबाट पर्याप्त परिमाणमा ग्यास नआउँदा उपभोक्ताले सास्ती भोग्नुपरेको छ,” उहाँले भन्नुभयो ।
मायादेवी गाउँपालिका–६ का उपभोक्ता रामबहादुर यादवले ग्यास अभावका कारण दैनिक घरायसी कामकाज प्रभावित भएको बताउनुभयो । “ग्यास पाइँदैन, पाइहाले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था छ । सरकारले सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
यसैबीच, बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने व्यवसायी माथि कडा निगरानी सुरु गरिएको प्रशासनले जनाएको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भाविश्वर घिमिरेले ग्यासको कालोबजारी तथा बढी मूल्य असुल्ने व्यवसायीलाई कानुन बमोजिम कडा कारबाही गरिने बताउनुभयो ।
“उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने जोसुकै व्यवसायीलाई कानुन अनुसार कारबाही गरिन्छ,” उहाँले भन्नुभयो ।
















































