तौलिहवा(कपिलबस्तु), भदौ २ गते । ।नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा, सञ्चारमाध्यमको आर्थिक संकट तथा विश्वसनीय पत्रकारिताको विषयमा छलफल गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले पछिल्लो समय प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि चुनौती थपिँदै गएको बताउनुभयो । उहाँले सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण सञ्चार माध्यम माथि हस्तक्षेप गर्ने, पत्रकारलाई पक्राउ गर्ने तथा विभिन्न दबाब सिर्जना गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो ।
महासचिव दाहालले सञ्चारमाध्यम र पत्रकारलाई पेशाबाट विस्थापित गर्ने खालका गतिविधि बढ्दै गएको बताउँदै यसले प्रेस स्वतन्त्रता माथि प्रत्यक्ष असर पार्ने धारणा राख्नुभयो । सञ्चारमाध्यम आर्थिक संकटमा परिरहेका बेला पत्रकारलाई पेशामा टिकाइराख्नु चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो ।
“पत्रकारिता क्षेत्रमा प्रविधिले ठूलो परिवर्तन ल्याएको छ । परम्परागत सोचबाट मात्र पत्रकारिता सम्भव छैन, अब प्रविधिमैत्री पत्रकारिता तर्फ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लामा स्वास्थ्य, शिक्षा, सरसफाइ, कृषि उत्पादनलगायतका क्षेत्रमा रहेका समस्याको समाधानका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । युवापुस्तामा बढ्दो लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले पत्रकारले सत्य र तथ्यमा आधारित समाचार प्रकाशन गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघलाई स्थानीय तहबाट सहयोग हुँदै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शान्ति सुरक्षा, सुशासन र नागरिक अधिकारका क्षेत्रमा पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले पत्रकारिताको विश्वसनीयता कायम राख्न समाचार सत्य र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल, कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज रामराज पोख्रेल, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, प्रदेशका निवर्तमान अध्यक्ष बसन्त गिरी, प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीलगायतको सहभागिता रहेको थियो ।
साधारण सभाका अवसरमा अक्षयकोषका लागि सहयोग गर्ने स्थानीय तहलाई सम्मान गरिएको थियो । शाखाले बेबसाइटको पनि उद्घाटन गर्नुका साथै पत्रकार जानु पाण्डे र गीता पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव सनिउल्ला धोबीले गर्नुभएको थियो ।
















































