काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाल प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपियाँ सहयोग गर्ने भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले बाढीबाट भएको क्षतिमा राहत पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीका कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट जनही १० लाख रुपियाँ तत्काल उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने तथा उनीहरूका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ ।
दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ ।
बाढीमा परी घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले हालसम्म फेला नपरेका प्रहरी कर्मचारीको खोजी कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गरिने जनाइएको छ ।
बाढी प्रभावित प्रहरी एकाइमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही ५० हजार रुपियाँ उपलब्ध गराइने भएको छ । इप्रका टिमुरे, अप्रपोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीलाई उक्त राहत उपलब्ध गराइनेछ ।
दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र तिनका परिवारलाई खोजतलास, उपचार तथा सेवा–सुविधा प्राप्तिका लागि सहजीकरण गर्न मानवस्रोत विकास विभागबाट एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
















































