रेसुङ्गा(गुल्मी, भदौ २० गते। गुल्मीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको अभियान अन्तर्गत जिल्लाका १२ स्थानीय तहका दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाउने भएका छन् । आगामी असोज ५ गतेदेखि ८ गतेसम्म जिल्लाभर अभियान सञ्चालन हुनेछ । यो एचपिभी खोप बिद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र बिद्यालय बाहिरका १० बर्ष उमेर पुगेका किशोरीले लगाउन पाउनेछन् ।
स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी कृष्ण पन्थीका अनुसार सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा ३९५ जना किशोरीले खोप लगाउनेछन् । मुसिकोट नगरपालिकाका २४५, मदाने गाउँपालिकाका २२२, मालिकाका १९६, इस्माका १६५ र सत्यवतीमा १६५ जना किशोरीले एचपिभी खोप लगाउने सूचना अधिकारी पन्थीले बताउनुभयो । त्यस्तै धुर्कोटका १६१, चन्द्रकोटका १६०, छत्रकोटका १५३, रुरुक्षेत्रका १४८, गुल्मीदरबारका १२२ र कालीगण्डकी गाउँपालिकाका ११९ जना किशोरीलाई एचपिभी खोप लगाउने योजना स्वास्थ्य कार्यालयको छ ।
स्वास्थ्य कार्यालय गुल्मीको प्रमुख पुष्पा थापाले किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले कार्यालयको तर्फबाट व्यावस्थापकीय काम अगाडी बढिरहेकाले अझै अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा विद्यालयहरुको योगदान आवश्यक रहेको बताउनुभयो ।
















































