कपिलवस्तु । महिला नेतृ तथा समाजसेवी मिथुला उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ५५ हजार ५५५ रुपियाँ सहयोग गर्नुभएको छ ।
उपाध्यायले सहयोग रकमको चेक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रिय शोक तथा विपत्तिको समयमा आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम सहयोग गरेको उपाध्यायले बताउनुभयो । दैनिक खर्चमा केही कटौती गरेर विपत्तिका बेला सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाइ छ ।
विपत्तिको समयमा महिलाले पनि आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “विपत्ति र राष्ट्रिय शोकका बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो, “सानो सहयोग भए पनि संकटमा परेकालाई राहत पुग्छ भन्ने विश्वास छ ।”
नारी शिल्पकला केन्द्रकी अध्यक्षसमेत रहनुभएकी उपाध्याय विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायकी पत्नी हुनुहुन्छ ।















































