दाङ । दाङका विभिन्न स्थानमा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले बुधबार बिहान ६ बजेदेखि १० बजेसम्म विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा ती बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट छ थान, बंगलाचुली गाउँपालिका–८ कएना पानीस्थित सामुदायिक वनबाट दुई थान र लमही नगरपालिका–७ स्थित नवशान्ति सामुदायिक वनबाट तीन थान एकनाले भरुवा बन्दुक बरामद गरिएको हो।
बरामद गरिएका सबै बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















































