कपिलवस्तु, असोज ३ गते । नेकपा (एमाले) कपिलवस्तुले विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी र वडा नं. ५ का वडाध्यक्ष अनवर मुसलमानलाई पार्टीबाट कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ।
दुवै जनप्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता लिएको जानकारी पाएपछि एमाले कपिलवस्तुले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
तौलिहवामा सम्पन्न एमाले कपिलवस्तु जिल्ला सचिवालयको १३औँ बैठकले चौधरी र मुसलमानलाई पार्टीबाट कारबाही गर्नुका साथै निर्वाचित जनप्रतिनिधिको जिम्मेवारीबाट समेत मुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिनुभयो।
एमालेका अनुसार पार्टीमा आबद्ध रही निर्वाचित भएका जनप्रतिनिधिले अर्को राजनीतिक दलको सदस्यता लिएको विषयलाई आधार बनाएर उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।
बैठकको निर्णयअनुसार दुवै जनप्रतिनिधिमाथि थप प्रक्रिया अघि बढाउन पार्टी केन्द्रमा सिफारिस पठाइने अध्यक्ष खनालले बताउनुभयो।














































