हुम्लामा कटुको (जडीबुटी) संकलन गर्न हिमाली क्षेत्रमा पुगेका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना एक सातापछि सम्पर्कमा आएका छन् ।
असोज ८ गतेदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरू सोमबार सबै सम्पर्कमा आएको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोर सिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।
उनीहरू भदौ २८ गते कटुको संकलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए । लामो समयसम्म सम्पर्क नभएपछि आफन्तले प्रशासनलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार १० जना नै सम्पर्कमा आइसकेका छन् । दुर्गम हिमाली क्षेत्र र सञ्चार सम्पर्कको समस्याका कारण उनीहरू केही दिन परिवारको सम्पर्कमा आउन नसकेको प्रहरीले जनाएको छ ।
















































