कपिलवस्तु, असोज १६ गते । जिल्लाको मायादेवी गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकका लागि सञ्चालित क्रियाकलापमा आधारित सिकाइ सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । ‘परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना (सीवाइसीसी)’ अन्तर्गत आयोजित तालिममा मायादेवी गाउँपालिकाका २३ विद्यालयका शिक्षकको सहभागिता रहेको थियो ।
युनाइटेड मिसन टु नेपालको सहयोग, मायादेवी गाउँपालिकाको समन्वय तथा दलित सामाजिक विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहभागी सरस्वती अधिकारीले कक्षा १ मा अध्यापन गराउने शिक्षकका लागि तालिम अत्यन्तै फलदायी भएको बताउनुभयो । तालिमबाट सिकेका विषयलाई कक्षाकोठामा व्यवहारमा उतारेर बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
त्यस्तै सहभागी श्याम दयाल यादवले पाँचदिने तालिममा बालबालिकालाई गणित विषय कसरी सहज र प्रभावकारीरूपमा सिकाउने, सिकाइ सामग्री निर्माण तथा प्रयोगलगायतका विषयमा व्यावहारिक ज्ञान प्राप्त भएको बताउनुभयो । फालिएका बोतललगायतका सामग्री प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न सकिने नमुना सिकाइ उपयोगी रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रशिक्षक तिलकराम खरबिन्दले शिक्षकले केवल पाठ्यपुस्तकमा आधारित भएर नभई बालबालिकालाई प्रत्यक्ष क्रियाकलापमा सहभागी गराएर सिकाउनुपर्नेमा तालिमले जोड दिएको बताउनुभयो । बालबालिकाले शैक्षिक सामग्री छोएर, प्रयोग गरेर र आफैँ क्रियाकलापमा सहभागी भएर सिक्दा सिकाइ प्रभावकारी हुने उहाँको भनाइ थियो ।
तालिमका क्रममा शिक्षकबीच अनुभव आदानप्रदान, शैक्षिक सामग्री निर्माण तथा कक्षाकोठामा त्यसको प्रयोगका विषयमा अभ्याससमेत गराइएको थियो ।
दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमती पासीले तालिमबाट सिकेका विषयलाई कक्षाकोठामा व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो । शिक्षकले सिकेका विषय कार्यान्वयन गरे÷नगरेको विषयमा संस्था तथा पालिकाबाट अनुगमन गरिने बताउँदै उहाँले लगानीको प्रतिफल बालबालिकाको सिकाइमा देखिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन परियोजनाका शिक्षा अधिकृत भोरिक केवटले गर्नुभएको थियो ।
















































