काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा डा. वाग्ले शुक्रबार राति अमेरिका प्रस्थान गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार भेटवार्तामा द्विपक्षीय सहायता अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ ।
साथै भदौ १० गतेको भोटेकोशी बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा पनि वाग्लेले विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने बताइएको छ ।
साथै, सडक र विद्युत् प्रसारण लाइनलगायत आर्थिक रूपमा महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी आकर्षित गरी रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने उपायबारे पनि प्रतिनिधिमण्डलले छलफल गर्ने अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन् ।
















































