कपिलवस्तु । शिवराज नगरपालिका–५ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। छन्द कालेबाबु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोग तथा शिवराज नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजना र व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो।
शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्। परीक्षणका क्रममा ३४ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन् भने आँखामा समस्या देखिएका ४५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ।
वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले वडावासीलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले आर्थिक अभाव वा अन्य कारणले आँखाको उपचारबाट वञ्चित नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
शिविरमा आँखा परीक्षण, समस्या पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। स्थानीयस्तरमै विशेषज्ञ सेवा पाएपछि सेवाग्राहीहरू पनि लाभान्वित भएका छन्















































