कपिलवस्तु, असोज १९ गते । कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट प्रहरीले बिलमा बिजक नम्बर उल्लेख नभएको रु. ५२ लाखभन्दा बढी मूल्यको रेडिमेड सर्ट बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको सात जनाको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनरबाट सात हजार १५२ थान रेडिमेड सर्ट बरामद गरेको हो।
बरामद रेडिमेड सर्टको भ्याटसहित अनुमानित मूल्य रु. ५२ लाख ५३ हजार १४४ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीले कन्टेनरको अनुमानित मूल्य रु. ३० लाखसहित बरामद सामान र सवारीको कुल मूल्य रु. ८२ लाख ५३ हजार १४४ कायम गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बिलमा बिजक नम्बर उल्लेख नभएको पाइएपछि सर्टसहित कन्टेनर नियन्त्रणमा लिइएको हो। उहाँले बरामद सामान र सवारीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
प्रहरीले बरामद सामानको स्रोत, बिलबिजक तथा राजस्वसम्बन्धी विवरणबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।
















































