काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने तयारीमा रहनुभएको छ ।
आईजीपी पदमा पुनर्बहालीको मागसहित रिट निवेदन दर्ता गर्ने विषयमा कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीसँग परामर्श गर्नुभएको थियो । बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि उहाँले बिहीबार सर्वोच्च अदालत जाने तयारी गर्नुभएको हो ।
मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट पदमुक्त गर्ने निर्णय गरेपछि उक्त निर्णयलाई कानुनी चुनौती दिने तयारी गरिएको हो । सरकारले कार्कीलाई पदमुक्त गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
कार्कीनिकट एक कानुन व्यवसायीका अनुसार बिहीबार रिट दर्ता गर्ने विषयमा छलफल भइरहेको छ । उहाँले रिट दर्ताका लागि कानुनी परामर्श जारी रहेको जानकारी दिनुभएको छ ।
















































