इटाली पठाइदिन्छु भनि रकम ठगी गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुर त्रियुगा नगरपालिका ७ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
रेग्मीमाथि रामेछापका सौगात सुनुवार लगायत तीन जनालाई वर्किङ भिषामा इटली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई फरार भएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट उनलाई पक्राउ गरेको हो ।
उमेशले विभिन्न व्यक्तिहरूलाई यस्तै प्रलोभनमा पारी १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ ।
















































