पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, २८ भदौ । आकासमा मडारिएका काला बादल र उर्लिएर आउने नारायणीको धमिलो बहाव देख्दा अहिले पनि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्तावासीको छाती ढुकढुक गर्छ । विगत एक महिनादेखि नारायणी नदीको निरन्तर कटान र डुबानका कारण को सुस्ता गाउँपालिका वडा नं. ५ स्थित ‘सुस्ता पारी गाउँ’का बासिन्दा आफैँ ठूलो सङ्कट झेलिरहेका छन्।
आफ्नै आँखाअगाडि खेतबारी नदीमा विलीन भइरहँदा सुस्तावासीको मन भने अरूकै पीडामा पग्लियो । आफू संकटको भुमरीमा छटपटाइरहँदा पनि सुस्तावासीहरूले भोटेकोशी क्षेत्रका विनाशकारी बाढी-पहिरोपीडित दाजुभाइ तथा दिदीबहिनीको आँसु पुछ्ने प्रयास गरेका छन्।
सुस्तामा सङ्कलन गरिएको यो सहयोग रकम कुनै उद्योगी वा धनाढ्यको तिजोरीबाट निस्किएको होइन । यो त छाक टार्न र बिरामी पर्दा औषधि-मुलो गर्नेसमेत धौ-धौ परेका सर्वसाधारण सुस्तावासीको पेट काटेर जोडिएको चोखो माया हो । कसैले आफ्नो खल्तीमा बचेको रु. ५० निकाले, कसैले रु. १०० त कसैले आफ्नो तागतअनुसार थोरै-थोरै सहयोग रकम जुटाए।
आफ्नै घरमा परिवारलाई खुवाउने औषधि किन्ने पैसा अभाव भइरहेका बेला पनि भोटेकोशीका बाढीपीडितको सहारा बन्न अघि सरेका सुस्तावासीले एउटा दूरगामी सन्देश दिएका छन्— “आफू पीडामा भएर पनि अरूको घाउमा मलम लगाउनु नै सुस्तावासीको वास्तविक पहिचान र देशभक्ति हो।”
गाउँभरि स्वेच्छिक रूपमा सङ्कलन गरिएको कुल रु. ४३,५५५/- (त्रिचालिस हजार पाँच सय पचपन्न रुपैयाँ) गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, विनय त्रिवेणी शाखामार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
सहयोग सङ्कलन अभियानका अभियन्ताहरूका अनुसार यो रकम भोटेकोशीका बाढीपीडित नागरिकहरूसम्म पुगोस् भन्ने मूल उद्देश्य राखिएको छ । रकमको आकार सानो भए पनि विपद्को यस दुःखद घडीमा जहाँ-जहाँ नेपाली पीडामा छन्, त्यहाँ-त्यहाँ हामी सबैले एकापसमा सहयोगको हात बढाउनुपर्छ भन्ने आत्मीय सन्देश फैलाउनु नै यसको मुख्य ध्येय हो।
आफैँ विपद्को मारमा परेर पनि अरूको दुःखमा सारथि बन्ने सुस्तावासीको यो अनुकरणीय कदमले सिंगो देशलाई नै मानवताको पाठ सिकाएको छ ।
















































