भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमारले भारतीय कांग्रेस पार्टी प्रवेश गरेका छन्। उनीसँगै गुजरातका विधानसभा सदस्य जिग्नेश मेवानीले पनि कंग्रेस पार्टी प्रवेश गरेका हुन्।
मंगलबार दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कांग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए।
कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन गरेका थिए।
‘कन्हैया कुमार यो देशमा अभिव्यक्ति स्वतन्त्रताको लागि लड्ने प्रतीक हुन्। उनले विद्यार्थी नेता भएर कट्टरपन्थीवादविरूद्ध लडेका छन्,’ उनले भने, ‘उनीजस्तो गतिशील व्यक्तित्व कांग्रेसमा जोडिँदा कार्यकर्ताहरू जोशिनेछन्।’
कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष र अल इन्डिया स्टुडेन्टस् फेडेरेसनका राष्ट्रिय नेता थिए। पछिल्लो समय उनी कम्युनिष्ट पार्टी अफ इन्डियामा आवद्ध थिए।
सन् २०१७ मा भएको विधानसभा चुनावमा मेवानीले स्वतन्त्र उम्मेद्वारी दिँदै गुजरातको भादगामबाट जितेका थिए।
यता कुमारले सन् २०१९ को लोक सभा चुनाव बेगुसाराईबाट लडेका थिए। त्यहाँ उनलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पराजित गरेका थिए।
















































