जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि जापानको संसदको तल्लो सदन (प्रतिनिधिसभा) विघटन गरेका छन् । बिहीबार बसेको संसदको बैठकलगत्तै संसद विघटन गरिएको जापानी अधिकारीहरुले जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।
जापानमा अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ । सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी)को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्को आमनिर्वाचनको तयारी थालेका हुन् ।
किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् ।
उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका छन् । देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न उनले सबै मतदाताहरुसँग आग्रह पनि गरेका छन् ।
















































