काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी गरेका छन् ।
बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक रहेको तर्क गरे।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउदै सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको बताए।
प्रधानमन्त्री देउवाले भने, ‘संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परिषद्लाई दिइएको छ। यस्तो महत्वपूर्ण र संवेदनशील भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले आफ्नो जिममेवारी अत्यन्त निष्ठा र नियन्त्रणका साथ सम्पादन गरेको पाउँदा मलाई प्रशन्नताको अनुभव भएको छ।