काठमाडाैं। सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको मतगणना जारी छ। बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको नवौं महाधिवेशनको बिहान १० बजेसम्मको परिणाम अनुसार इतर समूहले पकड बनाएको छ।
खान समयअघिसम्म ६ सय १२ मत गणना भइसकेको छ। यस्तोमा अध्यक्षदेखि अधिकांश पदाधिकारीमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष पछि परेको छ। परिणाम अनुसार संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दु पछि परेकी छन्। उनले २ सय ७१ मत प्राप्त गर्दा इतर पक्षबाट अध्यक्षका उम्मेदवार शिव लम्सालले ३ सय २६ मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षका सरोज अधिकारीले २ सय ७८ मत ल्याउँदा इतर समूहका प्रेम केसीले २ सय ९५ मत ल्याएका छन्। महासचिवमा संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलालले १ सय ९० र इतर समूहका दिलीप पौडेलले ३ सय ८० मत प्राप्त गरेका छन्।
उपमहासचिवमा युवराज गौतमले ३ सय २०, कमल पन्तले २ सय ५७, केशव सावदले २ सय ४०, रवीन्द्र सुवेदीले २ सय ३९, विष्णु खड्काले २ सय २६ र सन्तोष रेग्मीले २ सय ३६ मत प्राप्त गरेका छन्। युनियनको नवौँ महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत उपस्थित थिए।
















































