काठमाडौं । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच विराटनगरमा वार्ता सुरु भएको छ । प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत रहेको पहिचान पक्षसँग प्रदेश सरकारले संवाद थालेको हो ।
‘कोशी’ नाम खारेज गरी जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरुले माग राख्दै आएको छ ।
प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्ष धरले पहिचानको आधारमा नाम राख्नु पर्ने माग गर्दै गत फागुनदेखि नै आन्दोलन गरिहेका छन् ।
आन्दोलनकारीको मुख्य माग भनेकै प्रदेश १ को पुनः नामकरण गर्नुपर्ने हो । संयुक्त संघर्ष समिति गठन गरेरै पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेको छ ।
















































