साझा न्यूज । मर्यादपुर (कपिलवस्तु)
यशोधरा गाउंपालिका वडा नं. ५ सुठौलीका राजनैतिक अगुवा तथा समाजसेवी रउफ मुसलमानको निधन भएको छ । नेपाली कांग्रेसका अगुवा कार्यकर्ता तथा समाजसेवी मुसलमानको १ सय २ वर्षको उमेरमा आफ्नै घरमा मंगलवार राती २ बजे निधन भएको हो ।
केही वर्ष अघि देखि उनी मुटु रोगको उपचार गराउंदै आएको उनका छोरा सुहेल मुसलमानले बताए । समाजसेवी रउफ मुसलमानको निधन प्रति लुम्विनी प्रदेश सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, वडा अध्यक्ष जुवेर मुसलमानले शोक बक्तव्य प्रकाशित गरी समवेदना प्रकट गर्दै मृत आत्माको चीर शान्तिको कामना गरेका छन् ।
उनको शवलाई लुम्विनी प्रदेश सभाका सदस्य तथा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, नेपाली कांग्रेस यशोधरा गाउं समितिका अध्यक्ष जगदिश पाण्डेय दिनेश, युवा नेता अनुप कुमार पाण्डेय, वडा अध्यक्ष जुवेर मुसलमान, नेपाली कांग्रेसका नेताहरु करीम खां, ईरसाद अहमद खां लगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।
समाजसेवी मुसलमानका ४ छोरा, ३ छोरी र १ श्रीमती छन् । स्वर्गीय रउफ मुसलमान यशोधरा क्षेत्रका ईमान्दार, सहयोगी र लोकप्रिय राजनैतिक अगुवा तथा समाजसेवी थिए ।
















































