साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु, १० अषाढ । कपिलवस्तु कारागारबाट १४ वर्ष अघि सुरुङ्ग खनेर फरार भएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । भारत उत्तर प्रदेश सिद्धार्थनगर चिलिया घर भएका स्कुल मिया अन्सारी भनिने मोहम्मद स्कुललाई शिवराज नगरपालिका वडा नं. ७ चन्द्रौटाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।
२०६६ साल माघ २ गते कपिलवस्तु कारागारबाट ८ जना कैदीहरु सुरुङ्ग खनेर भागेका थिए । पक्राउ परेका खान उपर ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना तोकिएको छ । उनलाई प्रहरीले कपिलवस्तु कारागार बुझाएको छ ।
प्रहरीले हाल सम्म १ सय २६ फरार प्रतिवादीहरु पक्राउ गरेको छ । उनीहरुको कैद अवधि १ सय ४७ वर्ष १० महिना बांकी रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचना र खोजीबाट फरार कैदीहरुको जिल्लामा धमाधम पक्राउ पर्दै गएको प्रहरी उपरीक्षक पौडेलले बताए ।
















































