साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु अस्पताल फार्मेसीको आ.ब.२०८०।०८१ को औषधी स्टक विवरण यथाशीघ्र उपलब्ध गराउन कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको फार्मेसी स्टक विवरण अद्यावधिक नहुदै २५ लाख रुपैयाको औषधी गायब भन्ने समाचार विभिन्न पत्रपत्रिकामा आए पछि आफ्नो गम्भीर ध्यानआकर्षण भएको भन्दै नगर प्रमुख पौडेलले अस्पताल प्रशासनलाई तत्काल स्टक अद्यावधिक गरी सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।
नगर प्रमुख पौडेल सहायक प्रमुख जिल्ला अधिकारीका साथमा अस्पताल निरिक्षणका लागि शुक्रवार कपिलवस्तु अस्पताल पुगेका थिए ।अस्पतालबाट २५ लाखको औषधी गायब भएको भन्ने समाचारले समग्र कपिलवस्तु नगरपालिका क्षेत्रकै बदनामी भएको छ । अस्पताल विकास समितिमा हामी पनि छौंं, यो हाम्रो अस्पताल हो । हामी सवै मिलेर यसको विकास गर्नु पर्छ । नगर प्रमुख पौडेलले भने, अस्पताललाई बदनाम गराउने गरी कुनै पनि अपुष्ट तथ्यांक तथा भनाईहरु अस्पताल प्रशासनबाट निस्कनु हुदैन । यस तर्फ अस्पताल प्रशासन सचेत रहोस् ।
सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवलाल यादवले अस्पतालको फार्मेसीमा औषधी स्टक अद्यावधिक गर्ने काम भई रहेको बताए । सामाचारमा आए जस्तो अस्पतालबाट २५ लाख रुपैयाको औषधी गायब भएको कुरा प्रति आफु अनभिज्ञ रहेको अध्यक्ष यादवले बताए । स्टक गणनाको काम भईरहको र अझै नसकिएको अवस्थामा कसरी २५ लाखको औषधी गायब भएको तथ्यांक बाहिर ल्याईयो ? आफुलाई थाहा नभएको उनले बताए ।
आफुले जिम्मेवारी लिए पछि हाल सम्म कुनै पनि औषधी गायब नभएको फार्मेसी अधिकृत विरेन्द्र कुमार गुप्ताले बताए । आफुलाई बदनाम गर्न यस प्रकारको अर्नगल प्रचार गरिएको उनले बताए । अस्पताल फार्मेसीबाट कुनै प्रकारको औषधी गायब भएको भए कानुन अनुसार कडा सजाय भोग्न तयार छु, फार्मेसी अधिकृत गुप्ताले भने, “हरायो भनिएको औषधी म्याद गुज्रिएका र रेकर्ड अद्यावधिक नगरिएको हुन सक्छ ।”

अस्पताल प्रशासनले औषधी को स्टक चेक जांचका लागि अस्पतालका ६ जना कर्मचारीहरु रहेको एक समिति गठन गरेको छ । सो समितिले काम गर्दैछ । समितिले काम पुरा गरेर औषधीको यथार्थ अवस्था सार्वजनिक नगर्दा सम्म कसरी २५ लाखको औषधी गायब भयो भन्ने कुरा आउंछ, फार्मेसी अधिकृत गुप्ताले “भने, त्यो सब मलाई फसाउन गरिएको प्रपन्च हो । तर मलाई डर छैन । सवै स्टक मिलेको छ ।”
यस सम्वन्धमा प्रतिक्रिया लिन खोज्दा मेसु डा. किशोर वन्जाडे भने अस्पतालमा थिएनन् । अस्पतालका सुचना अधिकारी रत्नाकर शुक्लाका अनुसार मे.सु. डा.बन्जाडे गाडी मर्मत गर्न बुटवल गएका छन् । गाडी बनाउन डाक्टर जानु पर्छ र ? डईभरले बनाएर ल्याई हाल्छ नि भनेर नगर प्रमुख पौडेलले प्रश्न गर्दा सुचना अधिकृत शुक्लाले भने, उहांको अरु व्यक्तिगत काम पनि छ ।
















































