कपिलबस्तु, असोज १६ गते । कपिलबस्तु प्रहरीले सवारी साधन चेक जाँचको नाममा अबैध असुली धन्दा गर्न थालेको छ । जिल्लाका जनपद प्रहरीले मोटरसाइकल चालकहरुसँग कागजात चेकिङ्गको नाममा कमाउ धन्दा चलाइएको आरोप समेत लागेको हो ।
प्रहरी चौकी गुलरी बिजुवामा कार्यरत प्रहरी सहायक निरिक्षक तेजबहादुर केसीले मोटरसाइकल चेकजाँचको क्रममा ३ हजार भारु लिएको आरोप लागेको छ । विगतमा राजमार्गका विभिन्न जंगल र एकान्तमा बसेर चेकिङ गर्दै ट्राफिक प्रहरीले रकम असुल्ने गरेको गुनासो आउने गरेको थियो । तर पछिल्लो समय मायादेवी गाउँपालिका ८ बिजुवा लगायतका क्षेत्रमै जनपद प्रहरीले पनि चेकिङको नाममा असुली गर्न थालेको आरोप लागेको हो ।
केसीले अनटेस्ट बाइकको कागजात मागेसँगै मोटरसाइकल धनीसँग खसी मागेका थिए । बसन्तपुरका सोनु चौरसियासँग प्रहरी सहायक निरिक्षक केसीले ‘कि खसी देउ, कि पैसा देउ’ भन्दै आफ्नो कुरै नसुनेको जनाइएको छ । भारतीय नम्बर प्लेटको उक्त मोटरसाइकलको कागजात आफुसँग तत्काल नभएपछि केसीले ३ हजार भारु लिएको समेत चौरसियाले बताएका छन् ।
भारतीय नम्बरका गाडीको कागजात खरिद गरेको ४५ दिनभित्र मात्रै सम्बन्धित पक्षले उपलब्ध गराउने नियम रहेको छ, यद्यपि, केसीले त्यो कुरा आफुलाइ थाहा नभएको र तत्काल पैसा दिनुपर्ने अडान राखेका थिए ।
सवारी जाँच गर्ने अधिकार ट्राफिक प्रहरीसँग मात्रै भएका कारण कारण पनि जनपद प्रहरीको विरोध हुन थालेको छ । नजिकिदै गरेका चाडपर्व लक्षित सुरक्षा योजना निर्माण लाग्नुपर्ने प्रहरी असुलीमा लागेको प्रति सरोकारवालाको दुखेसो छ ।
















































