कपिलबस्तु, असोज १९ गते । कपिलबस्तुमा बजार अनुगमनमा तिब्रता दिइएको छ ।
बजार अनुगमनको क्रममा तौलिहवा बजार क्षेत्रमा बजारमा अधिकांश किरना पसलहरुमा मुल्य सूची नभएको, होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाई नभएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा करिब एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किरना पसलमा अनुगमन गरिएको बताउनुभयो । किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको उहाँको भनाई छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएको वस्तुहरु फेला पारी जफत नष्ट गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अधिकृत सरोज खनालले बताउनुभयो ।
बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको किरना पसललाई चाडै दर्ता गरि सञ्चालन गर्ने र मुल्यसुची राख्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका उद्यम विकास अधिकृत विनय कुमार शैनिले बताउनुभयो ।
अनुगमनको क्रममा कपिलबस्तु नगरपालिकाका विनोद कुंवर, जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्मा, उद्योग वाण्ज्यि संघ तौलिहवाका प्रतिनिधि, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो । अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको हो ।
















































