रेसुङ्गा(गुल्मी), वैशाख ११ गते । गुल्मीको रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु भएको छ । यो सेवाले चार जिल्लाका नागरिकलाई फाइदा हुनेछ । पहिला थाइराइड जाँच गर्न तम्घास, पाल्पा र बुटवल पुग्नुपर्ने बाध्याता रहेको थियो ।
चार जिल्लाको सङ्गममा रुरु प्राथमिक स्वास्थ्य केन्द्र भएकाले चार जिल्लाका नागरिकले सेवा पाउने रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले नागरिकको स्वास्थ्य उपचारलाई गुणस्तरीय, पहुँचयोग्य र सरल बनाउन गाउँपालिकाले विभिन्न रचनात्मक कामहरु गरिरहेको बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा १०÷१२ जनाको नमुना सङ्कलन भएपछि परीक्षण गर्न सकिने छ । थाइराइड जाँच गर्ने मेसिन टप बिजनेश ट्रेनिङ्ग प्रालिको सहयोगमा प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
रुरुक्षेत्र गाउँपालिकामा रुरु प्राथमिक स्वास्थ्य केन्द्र छ । दुई जना मेडिकल अधिकृतसहितका जनशक्तिबाट नागरिकको स्वास्थ्य सेवामा क्षेत्रमा गाउँपालिकाले काम गरिरहेको छ । त्यो बाहेक १५ शय्याको अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।
गाउँपालिकाले बिरामी परे घर नजिकै रगत परीक्षणको प्रत्येक वडामा प्रयोगशाला सञ्चालन गरिरहेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता गरेर गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई निबृतिभरण योजना सुविधामा समेटेको रुरु क्षेत्र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रदेव पौडेलले ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै आँखा उपचार सहज बनाउन आँखा उपचार केन्द्र स्थापना, घरघरमा स्वास्थ्य, विशेषज्ञहरुद्वारा बृहत स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु गाउँपालिकाले गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्यचौकी ६ र आयुर्वेद औषधालय दुई वटा रहेका छन् । यी मध्ये आयुर्वेद बलेटक्सारको आफ्नै भवन छैन । पालिकामा एक एम्बुलेन्स सञ्चालनमा रहेको र एउटा खरिदको चरणमा रहेको । पूर्ण संस्थागत सुत्केरी गाउँपालिका, पूर्णखोप, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था गाउँपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक पौडेलले बताउनुभयो ।
















































