कपिलवस्तु । कपिलवस्तुमा साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु गरिएको छ । तालिममा कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिका का ४८ वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ । साक्षरता कार्यक्रम प्रत्येक पालिकाका १६–१६ विद्यालयमा सञ्चालनमा रहेको जनाइएको छ ।
“शिक्षित बालबालिका भए नै विश्वमा परिवर्तनको थालनी हुन्छ” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा कक्षा दुईका विद्यार्थी लक्षित पहिलो चरणको कक्षा सञ्चालन गरिएको हो ।
कार्यक्रममा रुम टु रिडको साक्षरता कार्यक्रमको व्यवस्थापक स्मिता नेपालले साक्षरता कार्यक्रमअन्तर्गत सिकाइका सामग्री तथा विधिलाई परिमार्जन गर्दै लगिएको बताउनुभयो । उनले पहिलो वर्षका अनुभवलाई आधार मानेर दोस्रो वर्षमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उल्लेख गरिन् । विद्यालयमै पुगेर कक्षाकोठा अवलोकन गर्दै पेशागत सहयोग प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने उनको भनाई छ ।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले स्थानीय भाषाको आधारमा नयाँ पाठ्यक्रम विकास गर्ने कार्यमा नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले साक्षरता कार्यक्रममार्फत बालबालिकाको सिकाइ उपलब्धि सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बुद्धभुमि नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव घिमिरे र मायादेवी गाँउपालिकाका शिक्षा शाखा प्रमुख बद्री बेलबासेले बालबालिकाको सिकाइमा मातृभाषाको प्रयोग आवश्यक रहेको औँल्याएका छन् । घरमा नेपाली भाषा प्रयोग नहुने बालबालिकालाई विद्यालयमा सिकाइ सहज बनाउन उनीहरूको बुझ्ने भाषाको सहायताले शिक्षण विधि अपनाउनुपर्नेमा जोड दिइएको थियो ।
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र पिस नेपालको सहकार्यमा तौलिहवामा तालिम सञ्चालन भएको हो । कार्यक्रममा बिमल आचार्यको सञ्चालन तथा सुमित्रा भट्टराईको स्वागत मन्तव्य रहेको थियो । संस्थाका उपाध्यक्ष लक्ष्मी पंगेनी तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
















































