कपिलवस्तुमा नौ महिनामा भन्सार छली गरी गैर कानुनीरुपमा भित्राइएका ४ करोड ४० लाख बढीको मालसामान बरामद भएको छ । कृष्णनगर र सुठौली भन्सार तथा नेपाल र सशस्त्र प्रहरीले भारतबाट अबैधरुपमा भित्राइएको अवस्थामा सो माल बरामद गरेको हो । चालु वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म ४ करोड ४० लाख ८० हजार ८०२ रुपैयाको अबैध माल बरामद गरिएको दुबै भन्सार कार्यालयले सार्बजनिक गरेको बिवरणमा उल्लेख गरिएको छ ।
कृष्णनगर भन्सार कार्यालय अनुसार नौ महिनामा कुल ४ सय १६ मुद्दामा ३ करोड १५ लाख ७ हजार ५४५ रुपैयाको सरसामान बरामद भएको छ । जसमा नौ मुद्दामा १६ जना मानिस समेत पक्राउ परेको भन्सार कार्यालयका सुचना अधिकारी मयंक कुमार कर्णले बताए ।
भन्सार कार्यालयका अगुवाईमा गएको भन्सार गस्तीले ३९ मुद्दामा ५२ लाख ८८ हजार ७९८ रुपैया बराबरको मालसामान बरामद गरेका थियो । यस्तै सशस्त्र प्रहरीले २ सय ९८ मुद्दामा १ करोड ६५ लाख ९०९ र नेपाल प्रहरीले ८० मुद्दामा ९६ लाख ८४ हजार ८३८ रुपैयाको मालसामान बरामद गरेको थियो ।
त्यस मध्ये ३ सय १६ मुद्दाको लिलिमी प्रकृयाबाट ६९ लाख ८९ हजार ३२२ रुपैया राजस्व आम्दानी भएको सुचना अधिकारी कर्णले बताए । ४ सय १६ मुद्दाको कुल ३ करोड १५ लाख ७ हजार ५४५ मध्ये ३ सय ६९ मुद्दाको फर्छौट भई २ करोड ८२ लाख ६३ हजार ५४६ रुपैया फरफारक भएको छ ।
नयाँ सरकार गठन भएयता सिमा तथा भन्सारमा कडाई भए पछि तस्कारी तथा लुकाईछिपाई ल्याईन मालसामान बरामद हुनेक्रम समेत बढेको उनले बताए । उता सुठौली भन्सारमा नौ महिनामा २ सय ५५ मुद्दामा १ करोड २५ लाख ७३ हजार २५७ रुपैयाको मालसामान बरामद भएको छ ।
यस्तै सो अवधिमा मालसामान ढुवानीमा प्रयोग भएका १ करोड १० लाख ३७ हजार ६५७ रुपैयाको सवारी साधन समेत बरामद भएको भन्सार प्रमुख किरन बिष्टले बताए ।
२ सय ५५ मध्ये ७४ लाख ३६हजार ५७ रुपैयाको १ सय ८३ मुद्दा फर्छौट भएका छन । ५१ लाख ३७ हजार २ सयको ७२ मुद्दा फर्र्छौट गर्न बाकी छ । २ सय ३ मुद्दाका लिलामी सामानबाट ३२ लाख ४९ हजार ७२३ रुपैया आम्दानी भएको भन्सार प्रमुख बिष्टले बताए । भन्सार र सिमामा कडाई पछि भन्सार राजस्व संकलनमा बृद्धि भएको भन्सार प्रमुख बिष्टले बताए ।
















































