कपिलवस्तु । सुद्धोधन गाउँपालिकामा सञ्चालित ‘सुधारिएको खाद्य प्रणाली परियोजना’ अन्तर्गत भएका गतिविधिको पालिका स्तरीय अनुगमन गरिएको छ । वि.एम.जेड र डब्लु.एच.एच.को आर्थिक तथा प्राविधिक सहयोगमा फरवार्ड नेपाल र कालिका स्वालम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित परियोजनाअन्तर्गत भएका कार्यक्रमको स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनमा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, स्वास्थ्य शाखा संयोजक अस्पाक अहमद, कृषि शाखा प्रमुख, पशु शाखा प्रमुख तथा रोजगार शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो । त्यस्तै कालिका स्वालम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह र कोषाध्यक्ष प्रविणकुमार श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

परियोजनाले पछिल्लो छ महिनामा सञ्चालन गरेका गतिविधिको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले अनुगमन गरिएको परियोजनाले जनाएको छ । सो क्रममा भूमिहीन परिवारका सदस्यलाई सिटिइभिटीमार्फत ६५ दिने (३९० घण्टा) कुकसम्बन्धी तालिम प्रदान गरी तालिमपश्चात उनीहरूले सञ्चालन गरेको व्यवसायको समेत अवलोकन गरिएको थियो ।

त्यसैगरी फरक क्षमता भएका युवालाई स्वरोजगारमा जोड्ने उद्देश्यले परियोजनामार्फत उपलब्ध गराइएको ठेलाको उपयोग र त्यसबाट भइरहेको आम्दानीबारे पनि जानकारी लिइएको थियो ।

अनुगमन टोलीले गाउँपालिका–२ मा सहभागितात्मक गुणस्तर निर्धारण प्रणाली अन्तर्गत दुई समूहका ५० सदस्यले सञ्चालन गरेको अर्गानिक तरकारी खेतीको समेत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले अर्गानिक उत्पादनलाई बजारसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले पालिकाभित्र उत्पादन भएका अर्गानिक तरकारीलाई हाटबजारमा छुट्टै स्टल व्यवस्थापन गरी बिक्री वितरण गर्न सके किसानलाई थप प्रोत्साहन मिल्ने धारणा राख्नुभयो ।

















































