कपिलबस्तु, जेठ २ गते । “परिवर्तनका लागि बालबालिका, युवा र समुदाय” परियोजना अन्तर्गत परियोजनाका क्रियाकलाप तथा उपलब्धिबारे जानकारी र बस्तीस्तर योजना निर्माण सम्बन्धी पालिकासँग छलफल कार्यक्रम सम्पन्न भएको छ । दलित सामाजिक विकास केन्द्रको आयोजना तथा युनाइटेड मिसन टु नेपाल (युएमएन) को आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
परियोजनाको उद्देश्य तथा स्वागत मन्तव्य राख्दै दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले गाउँपालिकाले सञ्चालन गर्ने विभिन्न क्रियाकलाप लाई प्रभावकारी बनाउन थप सहयोग पुग्ने बताउनुभयो । परियोजनाका गतिविधि तथा उपलब्धिबारे परियोजना अधिकृत जितेन्द्र चौधरीले जानकारी गराएका थिए भने बस्ती स्तरको योजना छनोटको सहजीकरण मायादेवी गाँउपालिकाका सामाजिक विकास शाखाका प्रमुख बैतुल्लाह धुनियाले गर्नुभएको थियो ।
कार्यक्रममा सागरमाथा अत्मनिर्भर समुहकी मन्जु पाण्डेले बस्तीस्तरमा योजना तथा बजेट छनोट गर्दा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्नेमा बताउनुभयो । युवा क्लबका अनुप चौधरीले महिला, बालबालिका तथा समुदायसँग सम्बन्धित बजेटको सदुपयोग हुनुपर्ने र सबै नागरिकलाई त्यसबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । चौधरीले पालिकाबाट सञ्चालन हुने सम्पूर्ण कार्यक्रम नागरिकमैत्री, जवाफदेही र पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।
योजना शाखा प्रमुख रामकृष्ण तेलीले जनतामा नैतिक ज्ञान र चेतनाको आवश्यकता औँल्याउँदै सीमित बजेटका कारण सबै योजना एकैपटक कार्यान्वयन गर्न कठिन हुने बताउनुभयो । उहाँले विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । बस्ती स्तरको योजना छनोट अभिमुखिकरण कार्यक्रम पालिका र समुदायबीच उपयुक्त समयमा भएको उहाँको भनाइ छ ।
कार्यक्रममा स्थानीयस्तरको आवश्यकता अनुसार योजना निर्माण गरी समुदायमैत्री विकासलाई अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष मुस्ताक अहमद खाँ, वडा नम्बर ६ का वडाध्यक्ष सन्दीप चौधरी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विद्यालयका शिक्षक, युवा क्लब तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । केन्द्रकी अध्यक्ष सुरजमति पासीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परशुराम हरिजनले गरेका थिए।
















































