पछिल्लो समय नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य सेवा, प्रविधि तथा रोजगारीका अवसर विस्तारसँगै युवापुस्ता सीपमूलक शिक्षातर्फ आकर्षित हुन थालेका हुन् ।
यही आवश्यकता र समयको मागलाई मध्यनजर गर्दै कपिलवस्तु टेक्निकल इन्स्टिच्युटले शैक्षिक सत्र २०८२/०८३ का लागि विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना खुला गरेको जनाएको छ । विसं २०५४ मा स्थापना भएको संस्थाले सिटिइभीटीबाट सम्बन्धन प्राप्त गरी विभिन्न स्वास्थ्य तथा प्राविधिक विषय अध्यापन गराउँदै आएको छ ।
संस्थामा तीन वर्षे डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी (ल्याब टेक्निसियन), डिप्लोमा इन फिजियोथेरापी, हेल्थ असिस्टेन्ट (एचए), डिप्लोमा इन फार्मेसी तथा १८ महिने अमिन कार्यक्रम सञ्चालनमा रहेका छन् । एसईई उत्तीर्ण विद्यार्थीहरूले यी कार्यक्रम अध्ययन गर्न सक्ने व्यवस्था रहेको संस्थाले जनाएको छ ।
निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष तथा संस्थाका कार्यकारी निर्देशक अरुण कुमार पाण्डेय ले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले व्यवहारिक तथा सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर बनाउने धारणा व्यक्त गर्नुभयो । केवल सैद्धान्तिक शिक्षा नभई व्यवहारिक दक्षताले नै भविष्य सुरक्षित बनाउने उहाँको भनाइ छ ।
डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रममा विद्यार्थीलाई रक्त परीक्षण, बायोकेमिकल परीक्षण, माइक्रोबायोलोजी, ब्लड बैंकिङ तथा सरुवा रोग परीक्षणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिन्छ । दक्ष ल्याब जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
त्यस्तै, डिप्लोमा इन फिजियोथेरापी कार्यक्रममा दुर्घटना, पक्षघात, हाडजोर्नी समस्या तथा पुनर्स्थापनासम्बन्धी उपचारका विषय समेटिएका छन् । उपचारात्मक व्यायाम, इलेक्ट्रोथेरापी, हाइड्रोथेरापी, चिकित्सीय मसाज तथा क्लिनिकल अभ्याससम्बन्धी ज्ञान विद्यार्थीलाई प्रदान गरिने संस्थाले जनाएको छ ।
हेल्थ असिस्टेन्ट (एचए) कार्यक्रम ग्रामीण तथा शहरी क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा दिन सक्ने मध्यमस्तरका स्वास्थ्यकर्मी उत्पादनमा केन्द्रित रहेको छ । अध्ययनसँगै अस्पताल तथा समुदायस्तरमा व्यवहारिक र फिल्ड अभ्याससमेत गराइने व्यवस्था रहेको छ ।
डिप्लोमा इन फार्मेसी कार्यक्रममार्फत औषधि उत्पादन, वितरण, सुरक्षित प्रयोग तथा औषधि व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिन्छ । विद्यार्थीहरूले फार्मास्युटिक्स, फार्माकोलोजी तथा क्लिनिकल फार्मेसीलगायत विषय अध्ययन गर्नुका साथै इन्टर्नशिपसमेत गर्नुपर्ने हुन्छ ।
संस्थाले स्वास्थ्य क्षेत्रसँगै पूर्वाधार विकासतर्फ पनि १८ महिने अमिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक, भवन, पुल, सिँचाइ, खानेपानी तथा जग्गा नापजाँचका क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेका बेला यो कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ । यस कार्यक्रममा जग्गा नापजाँच, नक्सा निर्माण, फिल्ड सर्भे, लेभलिङ तथा आधुनिक सर्वे उपकरण सञ्चालनसम्बन्धी व्यवहारिक सीप सिकाइने बताइएको छ ।
प्रतिस्पर्धात्मक समयमा सीप, दक्षता र व्यवहारिक ज्ञान नै सफलताको आधार बन्दै गएको अवस्थामा स्वास्थ्य तथा प्राविधिक क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीका लागि कपिलवस्तु टेक्निकल इन्स्टिच्युट उपयुक्त गन्तव्य बन्न सक्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।
















































