काठमाडौं, जेठ १७ गते। बुद्ध परिपथ क्षेत्रका चार नगरपालिकामा पर्यटन तथा पूर्वाधार विकासलाई गति दिने उद्देश्यसहित ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (GLAD) अन्तर्गत सहायक सम्झौता सम्पन्न भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग मा आयोजित विशेष समारोहमा ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना सम्बन्धी सहायक सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेल ले हस्ताक्षर गर्नुभयो। विभागका तर्फबाट महानिर्देशक रवीन्द्र बोहरा ले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।
समारोहमा विभागका उपमहानिर्देशक एकराज अधिकारी, परियोजना निर्देशक लीला खतिवडा लगायत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर तथा परियोजनासँग सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो।
परियोजनाअन्तर्गत नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संघ (IDA) सँग गरेको वित्तीय सम्झौताअनुसार ग्रेटर लुम्बिनी क्षेत्रमा पर्यटनसम्बन्धी पूर्वाधार तथा सेवा सुधार, स्थानीय रोजगारी प्रवर्द्धन र क्षेत्रीय आर्थिक विकासलाई प्राथमिकतामा राखिएको छ। परियोजनाको कार्यान्वयन जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको छ।
सम्झौताअनुसार स्थानीय तहहरूको संस्थागत क्षमता अभिवृद्धि, पर्यटन तथा शहरी पूर्वाधार विकास, सम्पदा–संवेदनशील तथा जलवायु–उत्थानशील डिजाइन, विश्व बैंकको मापदण्डअनुसार खरिद तथा वित्तीय व्यवस्थापन, नागरिक सहभागिता, वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा बोल्दै उपमहानिर्देशक एकराज अधिकारी ले बुद्ध परिपथ क्षेत्रका नगरपालिकाबीचको सहकार्यले लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकासमा नयाँ आयाम थप्ने बताउनुभयो। उहाँले स्थानीय पूर्वाधार सुधारसँगै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन सेवा विस्तार र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनमा परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेल ले बुद्धसँग सम्बन्धित ऐतिहासिक नगरहरूलाई एउटै विकास अवधारणामा जोड्ने प्रयासका रूपमा GLAD परियोजना महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले परियोजनाबाट पर्यटन पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गर्नुभयो।
सम्झौतासँगै बुद्ध परिपथ क्षेत्रमा रहेका लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह सहितका बौद्ध सम्पदा क्षेत्रलाई जोडेर समग्र पर्यटन विकास गर्ने लक्ष्यलाई थप संस्थागत आधार प्राप्त भएको जनाइएको छ।
विगत केही वर्षदेखि बुद्ध परिपथ क्षेत्रका नगरपालिकाबीच हुँदै आएको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै उक्त परियोजनाले क्षेत्रीय पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
















































