काठमाडौं, जेठ १७ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिनुभएको हो । लिम्पियाधुरा लगायतको भूभागबारेमा सरकारले कुटनीतिक नोट पठाइसकिएको र त्यहीअनुरुप त्यो समस्या समाधान गरिने उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री शाहले सो कुरा बताउनुभएको हो । उहाँले बेलायत र भारत दुवै पक्षसँग कुटनीतिक तरिकाबाट सुल्झाउने उहाँले बताउनुभयो । नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले उठाउनुभएको विषयमा उहाँले सो जवाफ दिनुभएको हो ।
कम विकाशसील देशबाट विकासशील देशमा उकास्न र देशको आर्थिक अवस्था बढाउनतिर सरकारको ध्यान गएको उहाँले बताउनुभयो । विपन्नहरु महँगो कलेजमा पढ्न नसक्ने हुनाले त्यस्ता विद्यार्थीका लागि यसअघि काठमाडौं महानगरपालिकाले समेत त्यो काम गरेको स्मरण गर्दै उहाँले सरकारले देशभरी त्यो व्यवस्था लागू गर्न खोजेको बताउनुभयो ।
संविधानमा निःशुल्क शिक्षाको व्यवस्था भए पनि सरकारको बजेटले नभ्याउने भन्दै उहाँले विपन्न परिवारका विद्यार्थीलाई सरकारले सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुकुम्बासीको विषयमा सांसदहरुले उठाउनुभएको जिज्ञासामा प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्न होल्डिङ सेन्टरमा सारिएको बताउनुभयो । नदी किनारमा फोहोर ठाउँमा बसेर सुकुम्बासी परिवारहरु जोखिममा रहेको र विभिन्न रोगबाट ग्रस्त रहेकाले ज्यानबाट जोगाउन उहाँहरुलाई खोला किनारबाट सारेको बताउनुभयो ।
‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौं, अलि समय त लाग्छ तर समाधान हुन्छ’ उहाँले भन्नुभयो । नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ, भारतले मात्र नेपालको जग्गा मिचेको होइन, उहाँले भन्नुभयो, “भूमि समस्या समाधानका लागि सरकार कुटनीतिक माध्यमबाट समाधान गर्नेछ ।”
सहकारी पीडितहरुको पैसा तिर्ने व्यवस्था हुने बताउँदै उहाँले त्यसबारेमा प्रक्रिया सुरु भइसकेको बताउनुभयो । आयोगका विभिन्न प्रतिवेदनलाई अध्ययन गरी सम्बोधनका लागि सरकारले पहल लिइरहेको उहाँले बताउनुभयो । बाँदर व्यवस्थापनको विषय कठिन विषय भएको भए पनि व्यवस्थापनका लागि आवश्यक पहल लिने उहाँले बताउनुभयो ।
















































