तौलिहवा(कपिलबस्तु), जेठ २२ गते । अत्यधिक गर्मीका कारण कपिलबस्तु नगरपालिकाका विद्यालय तीन दिन बन्द भएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालयको जेठ २२ गतेको निर्णयअनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिइएको हो । उक्त बिदा वर्षे बिदाबाट मिलान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले अत्यधिक तापक्रमका कारण विद्यालयमा नियमित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको तथा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले बिदा दिनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरिएको हो । बिदाको अवधिमा अभिभावकहरूले बालबालिकालाई अत्यधिक घामबाट जोगाउन र पर्याप्त पानी पिउन प्रेरित गर्न आवश्यक छ ।”
नगरपालिकाले सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न तथा बिदापछि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ । पछिल्ला दिनमा बढ्दो गर्मीका कारण कपिलवस्तुसहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ ।

















































