तौलिहवा(कपिलबस्तु), जेठ ३० गते । नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाले जेष्ठ नागरिक सम्मान तथा आजीवन सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष राजेश ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदीप पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम कपिलवस्तु नगरपालिकाको सहयोगमा आयोजना गरिएको हो ।
कार्यक्रममा ६० जना जेष्ठ नागरिकलाई दोसल्ला, सम्मानपत्र, ग्लुकोज तथा एक–एक थान गिलास प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ । साथै संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा नगरप्रमुख पौडेलले जेष्ठ नागरिकको सम्मान र संरक्षण समाजको साझा दायित्व भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले जेष्ठ नागरिक, चिनजान तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने उल्लेख गर्नुभयो ।
उहाँले जेष्ठ नागरिकको सेवा र सम्मान गर्ने अवसर पाउँदा खुसी लागेको बताउँदै उहाँहरूको अनुभव र योगदान समाजका लागि प्रेरणाको स्रोत भएको धारणा व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
संस्थाका अध्यक्ष ज्ञवालीले जेष्ठ नागरिकको सम्मानका लागि संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले समाजका ज्येष्ठ सदस्यको योगदानको कदर गर्दै उनीहरूको मनोबल उच्च राख्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।
कार्यक्रममा कमला सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव इन्दीरा देवकोटाले गर्नुभएको थियो ।
















































