रौतहट ८ साउन
रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलकी अन्दाजी ४५ वर्षीया रेनु देवी जयसवालको खुकुरी प्रहारबाट हत्या भएको छ। बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही घर भई हाल गुजरा–५ हरिहरपुर बस्दै आएका करिब ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उपेन्द्र साह कलवारको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते साहको अवस्था पनि गम्भीर रहेको छ। घटना बारेमा अनुसन्धान जारी रहेको र घटनाको ठोस कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
















































