खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

सुग्रिव बरई

कपिलबस्तु । भारत–नेपाल सीमामा अवैध तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानअन्तर्गत सशस्त्र सीमा बल (एसएसबी) र उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले छ बोरा युरिया मलसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। टोलीले दुईवटा साइकलसमेत बरामद गरेको छ।

खुनुवा सीमा चौकीअन्तर्गत सीमा स्तम्भ नम्बर ५५५ नजिकै बिहीबार नाकामा खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा सामान लैजाँदै गरेका दुई जनालाई देखेपछि रोक्ने प्रयास गरेको थियो। टोलीलाई देखेपछि एक जना नेपाल सीमातर्फ भागेका थिए भने उनले चलाएको साइकल र सामान त्यहीँ छाडेका थिए। अर्का व्यक्तिलाई भने टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा कपिलवस्तु, नेपालस्थित यशोधरा गाउँपालिका–८ का ४४ वर्षीय परमात्मा वनिया रहेका छन्। उनको साथबाट छ बोरा युरिया मल बरामद भएको थियो।

प्रारम्भिक सोधपुछका क्रममा वनियाले सोहरतगढबाट युरिया मल खरिद गरी नेपाल लैजान लागेको र नेपालमा बढी मूल्यमा बिक्री गर्ने योजना रहेको बताएका थिए।

आवश्यक कागजात नभेटिएपछि संयुक्त टोलीले छ बोरा युरिया मल र दुईवटा साइकल नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय खुनुवाको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको एसएसबीले जनाएको छ।

भारत–नेपाल सीमामा अवैध ओसारपसार नियन्त्रणका लागि नियमित रूपमा निगरानी र संयुक्त अभियान सञ्चालन हुँदै आएको छ। एसएसबीका अनुसार मानव तस्करी, लागुऔषध, अवैध मुद्रा, वन्यजन्तु तथा अन्य प्रतिबन्धित सामग्रीको तस्करी नियन्त्रणमा समेत सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर