कपिलबस्तु, साउन २७ गते । कपिलबस्तु नगरपालिका ६ लक्ष्मीनगर स्थित श्री संयोग कृषि सहकारी संस्थाले अनुदानमा उपलब्ध गराइएको रासायनिक मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको आरोप लागेको छ ।
नगरपालिकाले डिएपी मलको बिक्री मूल्य प्रतिबोरा दुई हजार ३५४ रुपैयाँ र युरिया मलको मूल्य ९०४ रुपैयाँ तोकेको भए पनि सहकारीले डिएपी दुई हजार ५०० र युरिया एक हजार रुपैयाँमा बिक्री गरेको कृषकहरूले आरोप लगाएका छन् ।
स्थानीय कृषकका अनुसार मलको अभाव रहेका बेला बाध्य भएर सहकारीले तोकेको मूल्य तिर्नुपरेको हो । उनीहरूले सहकारीले पहुँच भएका कृषकलाई मात्र तोकिएको अनुदान मूल्यमा मल उपलब्ध गराउने गरेको र अन्य कृषकबाट बढी रकम असुल्ने गरेको आरोपसमेत लगाएका छन् ।
मल खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको भन्दै कृषकहरूले सम्बन्धित निकायले अनुगमन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
यस विषयमा सहकारीका अध्यक्ष रामु यादवसँग फोन सम्पर्क गर्दा फोन उठेन ।
कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले मल वितरणका क्रममा तोकिएको मूल्यभन्दा बढी रकम लिएको गुनासो आएको भए तत्कालै कारबाही गरिने बताउनुभयो । उहाँले सहकारीका सञ्चालकलाई बोलाएर वास्तविकता बुझी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
अनुदानमा प्राप्त मल कृषकलाई तोकिएको मूल्यमा समान रूपमा वितरण गर्नुपर्ने भए पनि बढी मूल्य असुलिएको आरोपपछि नगरपालिकाले सहकारीको कारोबार र मल वितरण प्रक्रियाबारे छानबिन गर्ने भएको छ ।

















































