कपिलबस्तु, साउन २८ गते । कपिलबस्तुको महावनस्थित ऐतिहासिक महासमय स्थलमा थाइल्याण्डबाट आएका भिक्षुहरूले पूजापाठ तथा प्रार्थना गरेका छन् ।
रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा थाइल्याण्डबाट आएका २७ जना भिक्षुले महासमय स्थलमा धार्मिक विधिपूर्वक पूजापाठ तथा प्रार्थना गरेका हुन् । टोलीले ऐतिहासिक महासमय स्थलको अवलोकनसमेत गरेको थियो ।
बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार गौतम बुद्धको करिब ५० वर्षको उमेरमा कपिलवस्तु र कोलिय राज्यबीच रोहिणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । विवादले युद्धको अवस्था सिर्जना गर्न लागेपछि बुद्धले दुवै पक्षका पाँच–पाँच सय सैनिकलाई भिक्षु बनाउँदै उनीहरू तथा देवताहरूलाई यही क्षेत्रमा महासमय सूत्रको उपदेश दिनुभएको बौद्ध परम्परामा उल्लेख छ । सोही ऐतिहासिक घटनासँग सम्बन्धित भएकाले यस स्थललाई महासमय स्थल भनिएको हो ।
महासमय स्थलमा भेटिएका पुरातत्विक अवशेष, सामग्री तथा कलात्मक संरचनाका आधारमा आठौँ शताब्दीमा पालवंशीय शासनकालमा यहाँ विहार निर्माण भएको अनुमान गरिएको छ । यहाँबाट प्राप्त विभिन्न शिलामा आर्य अष्टाङ्गिक मार्गका चिन्ह तथा शील, समाधि र प्रज्ञाका प्रतीक अंकित छन् । विभिन्न कलात्मक आकृतिसहितका पुरातत्विक अवशेषले यस क्षेत्रको प्राचीन बौद्ध इतिहास, कला र धार्मिक महत्त्वलाई थप पुष्टि गरेको बताइन्छ ।
लुम्बिनी विकास कोषका पूर्वसदस्य राजेश ज्ञवालीले महासमय स्थल बौद्ध धर्म र कपिलवस्तुको प्राचीन इतिहाससँग जोडिएको महत्वपूर्ण धार्मिक तथा पुरातत्विक क्षेत्र भएको बताउनुभयो । उहाँले थाइल्याण्डबाट आएका भिक्षुहरूले यहाँ पूजापाठ तथा प्रार्थना गर्नुले यस स्थलको अन्तर्राष्ट्रिय बौद्ध महत्वलाई समेत उजागर गरेको बताउनुभयो ।
महासमय स्थलमा विदेशी बौद्ध भिक्षु तथा तीर्थयात्रीको आगमन बढ्दै गए पनि यसको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा अझै पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको भनाइ छ ।
















































