महाराजगन्ज नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट एक हजार एक सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
नगरपालिकाको आयोजना तथा छन्द कालेबाबू नारायणी आँखा अस्पताल, बहादुरगन्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा आँखा परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा परीक्षण गराएका बिरामीमध्ये १५० भन्दा बढी मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ ।
आँखासम्बन्धी उपचारका लागि आर्थिक अवस्था कमजोर भएका तथा अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । शिविरबाट ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका नागरिकले सेवा लिएका थिए ।
महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले आँखासम्बन्धी समस्या लिएर उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताउनुभयो ।
नगर प्रमुख कलामले स्वास्थ्य सेवा नागरिकको मौलिक आवश्यकतासँग जोडिएको विषय भएकाले स्थानीय सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको उल्लेख गर्नुभयो । उहाँले नगरवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।
महाराजगन्ज नगरपालिका–१ का वडाध्यक्ष प्रमोद चौधरीले गाउँघरमै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पाएपछि स्थानीयवासीलाई ठूलो राहत भएको बताउनुभयो । उहाँले आर्थिक अभाव वा उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण आँखाको समस्या लुकाएर बसेका नागरिकले समेत शिविरबाट सेवा लिन पाएको उल्लेख गर्नुभयो ।
वडाध्यक्ष चौधरीले विशेषगरी मोतियाबिन्दु भएका ज्येष्ठ नागरिकलाई शिविरले ठूलो सहयोग पुगेको बताउँदै नागरिकको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
शिविरमा आँखा परीक्षणका क्रममा पहिचान भएका मोतियाबिन्दुका बिरामीको आवश्यक परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।
















































