कपिलबस्तु, भदौ २२ गते । जिल्लाको बुद्धभूमि नगरपालिकाका गाउँब्लक जग्गाधनीले लामो समयपछि जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि नगरपालिका–८ मा आयोजित कार्यक्रममा वडा नं. ७ र ८ का ७३० जना जग्गाधनीलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
कार्यक्रममा वडा नं. ७ का ३३८ जना र वडा नं. ८ का ३९२ जना गरी ७३० जना जग्गाधनीले प्रमाणपुर्जा प्राप्त गरेका छन् । गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त भएपछि वर्षौंदेखि जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीलाई आफ्नो सम्पत्तिको कानुनी स्वामित्व स्थापित गर्न सहज हुने भएको छ ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा वितरण गर्ने कार्यलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । उहाँले लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको स्वामित्व थप सुरक्षित हुनुका साथै आवश्यक आर्थिक तथा सामाजिक काममा समेत सहजता हुने उल्लेख गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाभित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले जग्गा दर्तासम्बन्धी काममा सम्बन्धित निकायबीच समन्वय गरी बाँकी कामसमेत छिटो सम्पन्न गर्न पहल गरिने जानकारी दिनुभयो ।
नापी कार्यालयका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रियालाई अगाडि बढाउँदै प्रमाणपुर्जा वितरण गरिएको बताउनुभयो । उहाँले प्रमाणपुर्जामा नाम, कित्ता, क्षेत्रफल लगायतका विवरणमा कुनै त्रुटि भएमा सच्याउन सकिने भएकाले सम्बन्धित जग्गाधनीलाई प्रमाणपुर्जा प्राप्त गरेपछि विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गर्नुभयो ।
यसअघि बुद्धभूमि नगरपालिका वडा नं. ५ का ३३५, वडा नं. ६ का ६२० र वडा नं. १० का ७३१ घरपरिवारलाई गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ । वडा नं. ७ र ८ का समेत गरी नगरपालिकामा हालसम्म दुई हजार ४१६ घरपरिवारले गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।
बुद्धभूमि नगरपालिका–८ का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद खनाल, वडा नं. ७ का अध्यक्ष शालिकराम यादव, वडा नं. २ का अध्यक्ष सुरजप्रताप राणा, वडा नं. ५ का अध्यक्ष रोमबहादुर थापा क्षेत्री र वडा नं. ९ का अध्यक्ष प्रमोद आचार्य लगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य, सहजीकरण समितिका सदस्य, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय लगषयतको सहभागिता थियो ।
















































